हेटौडा । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा असोज १३ गते शनिवार ललितपुरको पाटन दरवार परिसरमा जेष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिने भएको छ । सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानव अधिकार बारे बिष्वब्यापी घोषणामा गरिएका बाचाहरु पुरा गरौं” भन्ने नाराका साथ राष्ट्रिय फोटोपत्रकार समूह र एजिङ नेपालको आयोजनामा नेपालका हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिने आयोजकले बताएको छ ।
उक्त “तस्बीरमा जेष्ठ नागरिक फोटो प्रदर्शनीैं” मा थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरका जेष्ठ नागरिकहरुको तस्बीरहरु पनि प्रदर्शनीमा राखिने भएको छ ।
फोटो पत्रकार बिष्ट उक्त फोटो प्रदर्शनी कार्यक्रमको कार्यक्रम संयोजक समेत हुन् । कार्यक्रम संयोजक बिष्टले प्रदर्शनीका लागि देशभरका फोटो पत्रकारहरुले खिचेर पठाएका तस्वीरहरु मध्येबाट करिब १०० वटा तस्वीरहरु प्रर्दशनीमा राखिने बताउनुभयो ।हाल बिश्वमा जेष्ठ नागरिकहरुको संख्या सबैभन्दा बढी रहेको अवस्थामा उनीहरुको सक्रिय जीवनशैलीलाई तस्वीरमा उतारेर प्रदर्शनीमा प्रस्तुत गरिनेछ ।जेष्ठ नागरिकहरुको दैनिकी, मेहनत, सफलता, पारिवारिक खुसी, संघर्ष तथा सफलता झल्कने तस्वीरहरु प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा राखिने तस्वीरहरुले हालको नयाँ पुस्तालाई उत्साह, उमंग र जाँगर बढाउन मद्दत गर्ने आयोजकले जनाएको छ ।
यस्ता तस्वीर प्रदर्शनीले देशका बिभिन्न स्थानका जेष्ठ नागरिकहरुको अवस्था अध्ययन गर्न र उनीहरुको नैराश्यता र दुःखीपन कमगर्न सहयोग गर्ने कार्यक्रम संयोजक बिष्टले बताउनुभयो ।
राष्ट्रिय फोटो पत्रकार समूहले बिभिन्न संघ संस्थासंगको समन्वयमा बालबालिका तथा पर्यटन प्रवद्र्धनका फोटोहरु प्रदर्शन गर्दै आएको छ ।संयुक्त राष्ट्रसंघको नेतृत्वमा अक्टोबर १ मा बिश्वभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउँदै आएको छ । राष्ट्रिय फोटो पत्रकार समूह देशभरका फोटो पत्रकारहरुको साझा संस्था हो भने एजिङ नेपाल जेष्ठ नागरिकको हक हितका लागि कार्य गर्दै आएको गैरसरकारी संस्था हो ।
थाहाका जेष्ठ नागरिकको फोटो पाटन दरबार परिसरमा प्रदर्शनी हुने
सेयर गर्नुहोस्