हेटौडा । मनहरी गाउँपालिकामा मानव बेचविखन विरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा मनहरी गाउँपालिकाको आयोजना र हिमराईट्स नेपाल, माईती नेपाल, फियान नेपाल लगायतका संस्थाको सहकार्यमा मानव अधिकार तथा मानव बेचविखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले मानव बेचविखन तथा मानव अधिकार हनन् सम्बन्धी अपराध गम्भिर प्रकृतीको अपराध रहेको जिकिर गर्नुभयो । राज्यलेनै विशेष कानुनी व्यवस्था गरेको यस्ता किसिमका अपराधका विषयमा सबै समुदायमा जानकारी हुन आवश्यक रहेको उहाँको भनाई छ ।
यता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मानव अधिकार सुरक्षाको अभियान प्रत्येक घरबाट सुरु हुनु पर्ने बताउनुभयो । आफ्नो घरपरिवारमा हुने हिंसा अन्त्य गर्न सकेमात्र समाजमा मानव अधिकारको प्रत्याभुती दिलाउन सकिने उहाँको भनाई छ । मानव बेचविखनको घटना जुनसुकै र जस्तोसुकै समयमा पनि हुन सक्ने भएकाले सरोकारवाल सबै पक्ष चनाखो रहन उहाँले आग्रह समेत गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकहरु रेवा रेग्मी, कुमारी वाईबा र माया लामा लगायतले प्रशिक्षण दिनु भएको हो । सामाजीक विकास समितिका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सञ्चालीत कार्यक्रममा ७ नं वडाका कार्यवाहक वडाअध्यक्ष नवराज सुवेदीले शुभकामना मन्तव्य र स्रोत शिक्षक विदुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको हो । कार्यक्रमको सहजिकरण सामाजीक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले गर्नुभएको हो ।