हेटौडा । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ मकवानपुरगढी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । आजबाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानले एक समारोहका बीच उद्घाटन गर्नु भएको हो । मकवानपुरगढी – २ को कुर्लेमा रहेको खुल्ला खेल मैदानमा प्रतियोगिता भएको हो ।
२ दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न खेल विधामा मकवानपुरगढी गाउँपालिका भित्रका १० वटा माध्यामिक विद्यालयका करिब चार सय जना छात्र छात्रा सहभागी भएका छन् । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले मार्चपासमा आफ्नो विद्यालयको नाम सहितको ब्यानर र नेपालको राष्ट्रिय झण्डा समेत लिएका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख मोक्तानले विद्यार्थीहरुको खेल क्षेत्रमा प्रगतीका लागी यस्तै खेलकुद कार्यक्रमहरु आवश्यक रहेको बताउनु भयो । खेलकुदको विकाससँगै विद्यार्थीहरुबीच रहेको खेल प्रतिभाहरुको उजागर गर्नका लागि यस्तै कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।
त्यस्तै उद्घाटन कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मान कुमारी पाख्रिन “नेपालि”ले प्रतियोगिताको सफलताको शुभकामना दिनु भएको छ । खेलकुद बिकास समिति मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा श्री बंशगोपाल माध्यमिक बिद्यालय ( प्राविधिक शिक्षालय ) को व्यवस्थान तथा समन्वयमा भएको कार्यक्रममा मकवानपुरगढी खेलकुद बिकास समितिका अध्यक्ष हिरा स्याङ्तानको अध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।
उदघाटन सत्र कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की , वडा नम्बर २ का वडा अध्यक्ष बखान सिह पार्खृन , वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना , वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दहाल, कार्यपालिका सदस्यहरु , कर्मचारीहरु , बिद्यालयका प्रधानाध्यापकहरु , नागरिक समाज, राजनैतिक दलका प्रतिनिधिहरु, समाजसेवी लगायतको सहभागीता रहेको थियो ।