हाँडिखोलामा कोल्ड स्टोर निर्माणको सम्झौता

हेटौंडा टुडे
११ माघ २०८०, बिहीबार १२:०४

हेटा‌ैडा । मनहरी गाउँपालिका वडा नं ३ हाँडिखोलामा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता भएको छ । बुधबार गाउँपालिका र कोल्ड स्टोर निर्माणको ठेक्का पाएको हिमालयन नमोवुद्ध जे.वि बीच सम्झौता भएको हो ।

गत जेठ २ गते गाउँपालिकाले कोल्ड स्टोर निर्माणका लागि वोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाको प्राविधिक मुल्याङ्कन अनुरुप कुल ७ करोँड ५७ लाख ९६ हजार लागत अनुमान गरीएको बताइएको छ । उक्त ठेक्का प्रकृयामा सबैभन्दा कम ६ करोँड २८ लाख ४५ हजारमा ठेक्का साकार गरेको हिमालयन नमोवुद्धसँग कानुनी अड्चनका कारण गाउँपालिकाले सम्झौता गर्न सकेको थिएन ।

वोलपत्रमा दोस्रो नम्बरमा परेको कम्पनी हिमाल एम.एम जे.वि ले ठेक्का साकार गर्ने कम्पनीलाई मुद्धा दायर गरेपछि उच्च अदालत पाटन इजलासले गाउँपालिकालाई प्रकृया अघि नबढाउन पत्र पठाएको थियो । त्यसयता कुनै पनि काम गर्न असमर्थ भएको गाउँपालिकालाई गत माघ ५ गते अदालतले कार्य अघि बढाउन पत्र दियो । हिमाल एम.एम जे.वि ले दायर गरेको रिट निवेदन खारेज गर्दै प्रकृया अघि बढाउन आदेश दिएपछि गाउँपालिकाले बुधबार कम्पनीसँग सम्झौता गरेको हो । यता वडा नं ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले काम द्रुत गतिमा अघि बढाउन ठेकदार कम्पनीलाई निर्देशन दिनुभएको छ । “मुद्दा मामिलाका कारण लामो समय हामीले कुर्नु पर्यो”, उहाँले भन्नुभयो , “आगामी दिनमा समय अगावै काम सम्पन्न गरी उत्कृष्ट कार्य गर्न कम्पनीलाई निर्देशन दिएको छु” ।

यता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले हाँडिखोलामा कोल्ड स्टोर निर्माण गर्ने निर्वाचन अघि देखिकै आफ्नो सपना रहेको बताउनुभयो । “हाँडिखोला भेगमा उत्पादन हुने तरकारी तथा बालीले उचीत मुल्य नपाउँदा किसानहरु मर्कामा पर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “त्यस्तो अवस्थामा कोल्ड स्टोरमा भण्डारण गरी राख्ने र उचीत समयमा विक्री वितरण गर्न सके किसानले राम्रो मुल्य पाउन सक्नेछन्” ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*