हेटौंडा । हेटौंडामा चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सुरु भएको छ । कार्यक्रममा सहभागी हुन देशभरबाट चलचित्र पत्रकारहरु र कलाकारहरू भेला भएका छन् । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको आयोजनामा ८ गते सम्म चल्ने भेलामा सिनेमा संवाद, अन्तर्क्रिरया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुत लगायत विषयका ११ वटा सेसन सञ्चालन हुने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले जानकारी दिए ।
आज आइतबार एक औपचारिक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले प्रथम राष्ट्रिय भेलाको उद्घाटन गरेकी हुन् । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकारबीचको दूरी बढ्दो क्रममा रहेको भन्दै यस्ता भेलाले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । यसैगरी, बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारले कानुन निर्माण गर्ने तयारी गरेको जानकारी दिए । उनले ऐन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मस्यौदा तयार गरिरहेको जानकारी दिए । एक वर्षभित्र चलचित्र क्षेत्रमा नयाँपनको महसुस हुने गरी काम गरिरहेको उल्लेख गर्दै सापकोटाले चलचित्र क्षेत्रको विकासका लागि चलचित्र पत्रकार र लेखनका लागि कार्यशाला सञ्चालन गरिरहेको पनि बताए ।