हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर – २ मा रहेको बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल उपमहानगरपालिका कै पहिलो बालमैत्री स्कुल घोषणा हुने भएको छ । स्कुलले बालमैत्री विद्यालय घोषणाका लागि सबै सूचक पुरा गरेको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रिन्सिपल विनोद सुवेदी विद्यालयले पहिले देखिनै धेरै सूचकहरु पुरा गर्दै आएको र यो घोषणाका लागि थप काम गरेको र बालमैत्रि बिद्यालयका २६ वटा सूचक पुरा भैसकेको बताए । साथै बालमैत्री बिद्यालय घोषणाका लागि भब्य समारोहका बिच यही फागुन २२ गते बालमैत्री बिद्यालय घोषणा गरिने सुवेदीले बताए ।
यहि २२ गते मंगलबार विहान बाल रोग विशेषज्ञ टोलिको साथमा स्वास्थ्य परिक्षण, ९ बजेपछि विभिन्न झाँकी, पञ्चेबाजा सहित प्रभातफेरी गरिने र ११:०० बजेपछि औपचारिक कार्यक्रम आयोजना गरी विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिने सुवेदीले बताए । कार्यक्रममा नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहने जनाईएको छ । साथै कार्यक्रमा अभिभावक, विद्यार्थी, वडाभित्र रहेका २१ वटा टोलविकास समितिका प्रतिनिधि, नगरका अन्य विद्यालयका प्रधानाध्यापकहरु , शिक्षकहरुको सहभागिता रहने विद्यालयले जनाएको छ । साथै सोहि दिन हेटौडा – ८ मा अवस्थित रहेको चन्द्रोदय मा. वि. मा पनि बालमैत्री घोषणा हुन लागेको उपमहानगरपालिकाले जनाएको छ ।
बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल हाल एक हजार पाँच सय ३४ विद्यार्थी अध्ययनरत रहेको छन् भने विद्यालयमा कक्षा नर्सरी देखी कक्षा १० सम्म पठन पाठन भईरहेको छ ।
आज भएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको अध्यक्षता तथा वडा नम्बर – २ का कार्यवहाक अध्यक्ष सुरज बर्तौलाको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरिएको थियो । कार्यक्रममा वडा सदस्यद्धय मैया परियार र इन्द्र प्रसाद रिजाल, वडाका बाल सहजकर्ता राहुल शर्मा, बालजागृति बाल समूहका अध्यक्ष कृशाङ्गी अर्यालको लगाएतकाको आतिथ्यता रहेको थियो ।