हेटौँडा । मकवानपुर प्रहरीले मनहरीबाट ठूलो परिणाममा भन्सार छलेर ल्याएको सामानसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको प्रहरी टोलीले पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नं। ७ स्थित सडक खण्डमा सवारी साधनहरु जाँच गर्ने क्रममा बागमती बि एडी ४३७० नम्बरको गाडीबाट भन्सार छलेर ल्याएको ८२ थान मोबाइल, लत्ताकपडालगायतका सामग्रीहरू बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मंगलबारराति लोथरबाट हेटौँडातर्फ आउँदै गरेको उक्त गाडीमा भन्सार छलेर बिलबिजक नभएका अवैध रूपमा ल्याइएको विभिन्न किसिमका साडी, कुर्था सुरुवाल, टी सर्ट, पाइन्ट, जुत्तालगायतका लत्ताकपडाहरू दुई हजार ७४४ थान बरामद भएको छ ।
यस्तै, विभिन्न कम्पनीका आई फोन, सामसुङग, भिभो, आईटेल, रेड्मीलगायतका ८२ थान मोबाइल र सवारी साधनसमेत बरामद गरिएको छ । लत्ताकपडा, मोबाइल र गाडीसहित ७७ लाख रुपियाँ बराबरको रहेको उहाँले जानकारी दिनुभयो । उक्त मालसमानहरुसहित गाडी चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं। १३ का वर्ष २८ का राजकुमार चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जनाएको छ ।