हेटौंडा । हेटौंडा ७ नागस्वती युथ क्लबको आयोजनामा भोलि बैशाख १९ गते देखी प्रथम नागस्वती स्थानीय कृषि उत्पादन तथा संस्कृति प्रवद्र्धन मेला(२०८१ हुने भएको छ । सोमबार हेटौंडामा क्लबले पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी गराएको थियो ।
पहिलो पटक युथ क्लबले मेला आयोजना गर्न लागेको क्लबका अध्यक्ष अमर गुरुङले बताए । मेलामा वाल उद्यान सहित खाना तथा खाजाका स्टल रहने र बृहत स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तति हुने अध्यक्ष गुरुङले बताए । हेटौंडा ७ बेलीव्रिज पुल नजिक उक्त मेला हुनेछ । खानाको स्टल सहित विभिन्न स्टलहरु गरी करिब ८० वटा स्टलहरु रहने अध्यक्ष गुरुङले बताए ।
मेलामा ५० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । स्टल भाडा र प्रवेश शुल्क आयोजकको आम्दानी स्रोत रहेको अध्यक्ष गुरुङले बताए । मेलामा १९ गते उद्घाटनको दिन र २० गते प्रवेश निशुल्क रहने आयोजकले जनाएको छ । अन्य दिनमा भने प्रवेश शुल्क एक सय रुपैयाँ रहने बताइएको छ ।
मेला अवधिभर स्थानीय कलाकारको साथमा राष्ट्रिय स्तरका कलाकारहरुको साङ्गीतिक प्रस्तुती रहने क्लबका प्रथम उपाध्यक्ष राजकुमार बानियाँले बताए । मेलामा धुर्मुशसुन्तली, प्रताप दास, शान्तिश्री परियार, रचना रिमाल, प्रिति आले लगायत अन्य थुप्रै कलाकारहरुको प्रस्तुती रहने बानियाँले बताए । अन्य कलाकारहरुको समय तालिका मिलाउन समेत बाकीँ रहेको उनको भनाई रहेको थियो ।
मेला बैशाख ३० गते सम्म सञ्चालन हुनेछ ।