हेटौडा। नेपाल प्रेस युनियन वाग्मती प्रदेश समितिले नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश समितिमा तालाबन्दी गरेको छ ।सदस्यता शुद्धिकरणको विषयमा देखिएको अन्यौलताको अन्त्य र क्रियाशील सञ्चारकर्मीलाई सदस्यताबाट बञ्चित गर्न लागिएको भन्दै महासंघमा युनियनले तालाबन्दी गरेको हो ।
प्रेस युनियन वाग्मती प्रदेशका उपाध्यक्ष सुजन विडारी, सदस्य गंगा पौडेल तथा मकवानपुर जिल्ला अध्यक्ष सुवास विडारी सहितको युनियनकर्मीको टोलीले मंगलबार हेटौंडा–११ स्थित महासंघमा तालाबन्दी गरेको हो ।महासंघको निर्वाचन जेठ २६ गतेका लागि तोकिएको हामी सवैलाई थाहा नै छ । तर, अझैसम्म सदस्यता सार्वजनिक गरिएको छैन ।’, युनियन मकवानपुर अध्यक्ष विडारीले भने,‘ सदस्यता शुद्धिकरणको नाममा युनियनकर्मीलाई जिल्ला, प्रदेश र केन्द्रबाट उपेक्षा गरिएका कारण हामी तालाबन्दी गर्न बाध्य भएका हौं ।’ उनले सदस्यता शुद्धिकरणको नाममा कुनै पनि क्रियाशील सञ्चारकर्मीलाई महासंघको सदस्यताबाट बञ्चित गर्न नहुने स्पष्ट पारे ।
महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरणको विषयका कारण अहिले देशभरका सञ्चारकर्मी आन्दोलित भएका छन् । महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन जेठ २६ गतेका लागि तोकिएपनि अझैसम्म निर्वाचन कार्यतालिका सार्वजनिक भएको छैन । जसका कारण निर्वाचन अन्यौलमा परेको छ ।