मनहरी गाउँपालिकाद्धारा चालु आवको मुख्य मुख्य कामहरु सार्वजनिक

हेटौंडा टुडे
१ असार २०८१, शुक्रबार २२:४७

हेटौंडा / मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका कामहरु समेटेर प्रगती विवरण सार्वजनीक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको पालिकाले एक वर्ष भित्र सम्पादन गरेका कामको विवरण सार्वजनीक गरेको हो ।

पत्रकार सम्मेलनको आयोजना गर्दै चालु वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासलगायतका क्षेत्रमा गरेका मुख्य कामहरुबारे जानकारी गराइएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रञ्जान कालाखेतीले चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सामाजिक विकास, पुर्वाधार, गौरवका योजना लगायत क्षेत्रमा संतुलित र समानुपातिक ढंगले काम भएको बताउनुभयो । उहाँले विशेषगरि पालिका पुर्वाधार क्षेत्रसंगै समग्र विकासका क्षेत्रमा ध्यान दिएर काम गरेको बताउनुभयो । उहाँले आगामी आवमा पनि राम्रा र प्रभावकारी कामलाई निरन्तरता दिँदै छुटेका कामहरु समावेश गर्ने बताउनुभयो । यसका लागि विभिन्न तहमा सुझाव संकलनको काम समेत भईरहेको उहाँले भनाई छ ।

उहाँले चालु आवमा शिक्षा क्षेत्रको विकासका लागि विपन्न बालबालिकासंग बालबालिका कार्यक्रम अन्तरगत करिब ४ सय भन्दा बढि उच्च तथा प्राविधिक शिक्षा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरीनुका साथै सामुदायीक विद्यालयमा अत्याधुनीक प्रविधि मार्फत् पठनपाठन र शिक्षकहरुको क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरु सञ्चालन गरेर विद्यालयको पठनपाठन सुधारको प्रयास भएको बताउनुभयो ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा “विपन्न नागरीकसँग विश्वेश्वर स्वास्थ्य“ कार्यक्रम अन्तर्गत् २ हजार जनाको निशुल्क स्वास्थ्य विमाका साथै पुर्ण अपाङ्गता भएका र ज्येष्ठ नागरीकहरुलाई आवस्यकता अनुरुप जुनसुकै बेलामा घरदैलो सेवा प्रदान गरिएको । स्वास्थ्य क्षेत्रमै गर्भवती महिलाहरुलाई निशुल्क एम्बुलेन्सको व्यवस्था, निशूल्क पोषण प्याकेज, भिडियो एक्सरेसँगै सबै आवस्यक जाँचहरु निशुल्क प्रदान गर्नुका साथै विपन्न नागरीकहरुलाई पनि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको बताउनुभयो ।

त्यस्तै कृषि क्षेत्रमा गाउँपालिकाका कृषकहरुलाई प्रोत्साहनका लागि उन्नत जातका बिउविजनहरु अनुदानमा वितरण, दुग्ध उत्पादक कृषकहरुलाई प्रोत्साहनका लागि प्रति लिटर रु ३ रुपयाँका दरले करीब ५६ लाख अनुदान वितरण, किसानहरुको लागत सहभागितामा अत्याधुनिक कृषी औजार वितरण, कृषकहरुको राहतका लागि विपद्बाट भएका क्षतीलाई परीपुर्ती गर्न क्षतीपुर्ती अनुदान समेतको व्यवस्था गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिक्ता दिएको र किशानको सहुलियतका कोल्डस्टोर निर्माणको कार्य भईरहेको बताउनुभयो ।

उहाँले युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने उदेश्यका साथ पालिकाको स्रोत र साधनले भ्याएसम्मको प्रयास भएको बताउनुभयो । उहाँले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ७१ जना युवालाई रोजगारी प्रदान गरिएको । साथै विविध शीपमुलक तालिम मार्फत युवाहरुलाई रोजगारीमा जोड्ने र आत्मनिर्भर बनाउने प्रयास गरिएको बताउनुभयो । यस्तै उहाँले प्राप्त गर्ने विभिन्न सेवा सुविधा वापतको रकम समेत असहाय र विपन्न नागरिकका लागि खर्च गर्ने गरेको साथै यो वर्षदेखि प्रत्येक वडामा एक जना घरवार विहिनलाई विपन्न नागरिकको घर निर्माण गरिदिने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कालाखेतिले पूर्वाधार तर्फ चालु आवमा करीब ५ किमि स्ल्याब ढलान, ६ किमि न्याँ ट्रयाक, ३ किमि रिटेनिङ वाल, १ किमि नाला निमौण र २४ किमिभन्दा बढी खानेपानीको पाईप बिस्तारको काम भएको बताउनुभयो । उहाँले गाउँपालिकाको गौरबको योजना अन्तरगत जग्गा प्रात भई आफ्नै प्रशासकिय भवन निर्माणको प्रकृया थालनी भएको, पालिकाको आफ्नै स्रोतबाट आव २०७७÷७८ बाट सुरु गरिएका ५ वटा पक्की पुल मध्ये ३ वटा सम्पन्न भएको र बाँकी दूईवटाको काम पनि द्रुत गरिमा भईरहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले सामाजिक क्षेत्रमा प्रयाप्त बजेटको व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । उहाँले नागरिकले पनि भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिने गरेको भन्दै सामाजिक क्षेत्रमा चाहेर पनि प्रयाप्त बजेट व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा जज्ञासा र प्रश्न राख्दै सहभागी पत्रकारहरुले बिकास निर्माण र मानबिय बिकासमा जोड दिन सुझाव दिनुका साथै पालिकामा भएका गतिविधिहरुका जनचासोका बिषयमा प्रश्न राख्नु भएको थियो । पत्रकाहरुले पालिमा हुने ढुंगागीट्टी बालुवाको विवादका विषय, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा ध्यान दिन सुझाव दिनुभएको थियो । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सिता पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, बसिष्ट लेखा अधिकृत राजेन्द्र भट्टराई, स्रोत शिक्षक बिदुर थापालगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*