हेटौँडा। मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रमोद सिंह रानाभाटले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधबार बिहान रानाभाटले निर्वाचन लक्षित सचिवालयको उद्घाटन गर्नुहुँदै पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
रानाभाटले हेटौंडा–२, पल्पसारोडमा सम्पर्क सचिवालय स्थापना गरी चुनावी अभियान सुरु गरेको समेत बताउनुभयो । रानाभाटका पिता डम्बर बहादुर रानाभाटले रिवन काटेर औपचारिक रुपमा सम्पर्क सचिवालयको शुभारम्भ गर्नुभयो । उद्योगी तथा व्यवसायीको हकहितमा काम गर्ने योजनासहित आफू चुनावी मैदानमा होमिएको उहाँको भनाइ छ ।
उनी लामो समयदेखि मकवानपुरको व्यवसायी समुदायसँग निकट रहेर काम गर्दै आएका छन्। संघलाई व्यवस्थित र आर्थिक गतिविधिमा थप प्रभावकारी बनाउने योजनाका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए।
मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारण सभा तथा निर्वाचन पुष २४ देखी २७ गते हुने छ । व्यवसायीक हकहितको पैरवी गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न रानाभाटको उम्मेदवारीलाई महत्त्वका साथ हेरिएको छ।