हेटौंडा। मकवानपुरको थाहा नगरपालिकामा विषादी सेवन गरी अचेत अवस्थामा एक किशोर र एक किशोरी फेला परेका छन् । त्यसै गरी बुधबार मकवानपुरमा २ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।
थाहा नगरपालिका– ३ माझगाउँमा विषादी सेवन गरी एक किशोर र एक किशोरी अचेत अवस्थामा फेला गरेको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । प्रहरीका अनुसार धादिङ थाक्रे गाउँपालिका–४ छाप बईटारका १८ वर्षीय किशोर र ज्वालामुखी–६ की १६ वर्षीया किशोरीले धुलो विषादी सेवन गरी अचेत अवस्थामा फेला परेका थिए । प्रहरीले उनीहरुको उद्दार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पालुङ पठाएको जानकारी दिएको छ । पालुङमा सामान्य उपचारपछि थप उपचारका लागि दुवै जनालाई काठमाडौंस्थित वीर अस्पताल पठाइएको प्रहरीको भनाई छ । उनीहरुको उपचार कार्य जारी रहेको र अवस्था मध्यम रहेको जनाइएको छ ।
इलाका प्रहरी कार्याल पालुङका प्रहरी निरिक्षक सविन बाबु अर्यालका अनुसार दुवै किशोर किशोरी बीच प्रेमसम्बन्ध रहेको र परिवारले स्वीकृति नदिएकाले भागेर आफन्तकोमा बस्न आएका थिए । सोही क्रममा उनीहरुले विषादी सेवन गरेको उहाँले जानकारी दिनुभयो । दुवै किशोर किशोरी यसअघि पनि भागेर विवाह गरेको बुझिएको र परिवारले छुटाएर घर फर्काएको प्रहरीको भनाइ छ ।
मकवानपुरको बागमती–८ शान्तिपुरमा पनि एक किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । मकवानपुरगढी–२, गढीदरबार घर भई हाल बागमती–८ शान्तिपुरमा अध्ययनका लागि डेरा गरी १४ वर्षीया किशोरी आफु सुत्ने कोठाको दलिनमा झुण्डिएको अवस्थामा मृत फेला परेके प्रहरीले जनाएको छ । किशोरीको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।
हेटौँडा–१, चौकीटोलमा १९ वर्षीया रिना शाही झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । मनहरी–३, चैनपुर घर भई हाल हेटौँडा–१, चौकीटोलमा डेरा गरी बस्ने सुशील शाहीकी श्रीमती रिना आफु सुत्ने कोठा भन्दा अर्को कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।