
हेटौंडा । नेपालमा व्यावसायिक रुपमा बिक्री हुने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च देखिएको छ । मानव स्वास्थ्य र वातावरणमा यसले गम्भीर असर पार्ने विज्ञहरु बताउँछन् । सहर बजारहरुमा जार वा बोतलको पानिको धेरै प्रयोग हुने गर्दछ। काठमाडौं अध्ययनका लागि नेपालमा बिक्री हुने ११ ब्रान्डका ५६ वटा नमूना संकलन गरिएको थियो। यी नमूनाहरू नेपालका सातै प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएको थियो। विशेष गरी हिमाल, पहाड र तराईका जिल्ला समेटिने गरी रसुवा, काठमाडौं, चितवन, कास्की, दाङ, सुर्खेत, झापा, पर्सा, कैलाली लगायतका जिल्लाहरूबाट नमूना संकलन गरिएको थियो।
ती नमूनाका १२० लिटर पानीलाई स्टेरियोमाइक्रोस्कोप प्रयोग गरी दृश्यात्मक रूपमा परीक्षण गरिएको थियो र साथै μ-FTIR (Micro-Fourier Transform Infrared Spectroscopy) विधिबाट पोलिमेरिक विश्लेषण गरिएको थियो । पोलिमेरिक विश्लेषण भनेको प्लास्टिक तथा अन्य बहुलक पदार्थहरूको वैज्ञानिक अध्ययन गर्ने विधि हो। माइक्रोप्लास्टिकजस्ता साना कणहरूको पहिचान गर्न यो उपयोगी मानिन्छ ।
डा. विकास अधिकारीका अनुसार‘अध्ययनमा एक लिटर पानीको बोतलमा औसत २३२ ± २८ र जारको पानीमा औसत २८६ ± ४२ माइक्रोप्लास्टिक्स फेला परेका छन्। सबै नमूनामा माइक्रोप्लास्टिक्सको उपस्थिति देखिएको छ ’ । नेपालका भौगोलिक क्षेत्रअनुसार माइक्रोप्लास्टिक्सको मात्रा प्रतिलिटर फरक-फरक पाइएको छ । तराई क्षेत्रको नमूनामा सबैभन्दा उच्च औसत २६१ ± २८ देखिएको छ । हिमाली क्षेत्रमा औसत २०९ ± २० र पहाडी क्षेत्रमा औसत १९६ ± २९ पाइएको छ । त्यसैगरी तराई क्षेत्रमा उच्च प्रदूषणको कारण उच्च तापक्रम र प्लास्टिकका बोतलहरूमा देखिने भौतिक तथा रासायनिक प्रभाव हुनसक्ने अनुमान छ। नयाँ जारको पानीमा औसत ३२१ ± ५३ प्रतिलिटर माइक्रोप्लास्टिक्स पाइएको छ भने पुनः प्रयोग गरिएका जारमा औसत २५१ ± २७ प्रतिलिटर भेटिएको पाइन्छ।
माइक्रोप्लास्टिकका कणहरू ६.७ माइक्रोनदेखि ५००० माइक्रोनसम्मका विभिन्न आकारका थिए। अध्ययनले गर्मी वातावरणमा पाइने पानीमा माइक्रोप्लास्टिकको सघनता अझै बढी हुने सम्भावना छ। माइक्रोप्लास्टिकको स्रोत विभिन्न हुन सक्छन्। बोतल तथा जारको निर्माण प्रक्रियामा प्रयोग गरिने प्लास्टिक सामग्रीहरू, पानी प्रशोधन प्रणाली, बोतल आफैं तथा ढकनी तथा पानीको स्रोत नै माइक्रोप्लास्टिकको स्रोत हुन सक्छ।
बोतल खोल्दा तथा बन्द गर्दा, ढकनी र बोतलको घर्षणका कारण पनि माइक्रोप्लास्टिक उत्पन्न हुने सम्भावना रहन्छ। साथै, वितरण प्रणालीका पाइपलाइन तथा भण्डारण प्रणालीबाट समेत माइक्रोप्लास्टिक पानीमा मिसिन सक्छन्।नेपालमा बिक्ने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको व्यापकता गम्भीर चिन्ताको विषय बनेको छ। यसले हाम्रो शरीरमा तत्काल नकारात्मक असर नदेखिए पनि दीर्घकालीन असर पर्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।
यस समस्या समाधान गर्न गुणस्तर मापनको लागि अनिवार्य परीक्षण गर्न, उत्पादन प्रक्रिया सुधार गर्न, उपभोक्ताहरूलाई माइक्रोप्लास्टिक्सको प्रभावबारे जानकारी गराउन र कानुनी तथा नीतिगत सुधार गर्न आवश्यक रहेको डा. अधिकारी बताउँछन् ।‘यदि गुणस्तरमा सुधार नगरेमा दीर्घकालीन रुपमा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहन्छ,’ डा. अधिकारीले भने, ‘नेपालमा बोतल तथा जारको पानी उपभोग गर्ने उपभोक्ताहरूले पनि यस विषयमा सतर्कता अपनाउन आवश्यक छ।’

