वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने संख्या बढ्दो क्रममा

हेटौंडा टुडे
२ चैत्र २०८१, आईतवार १५:१९

हेटौंडा । वैदेशिक रोजगारीमा जान पछिल्लो आठ महिनामा पाँच लाख ३४ हजार ४७१ जनाले श्रम स्वीकृति लिएका छन् । नेपाल बेरोजगारीको समस्याले आक्रान्त छ। केही वर्षयता नेपालमा दिनानुदिन वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ। हाल नेपालीका लागि आर्थिक लाभ र जीविकोपार्जनको महत्वपूर्ण आधार नै वैदेशिक रोजगार भएको छ। अहिलेको अवस्थामा विदेशिनु कसैको रहर हुन्छ त कसैको बाध्यता, आर्थीक स्थिति कमजोरका कारण घर चलाउनका लागि पनि विदेशिने गर्दछन। नेपाली वैदेशिक रोजगारमा शताब्दीयौँदेखि जाने गरेको इतिहास छ।  यहाँ बर्सेनि बेरोजगारी वृद्धिकोे कारणमा जनसङ्ख्याको वृद्धि, कृषिबाट हुने आयस्रोत राम्रो नहुनु, औद्योगीकरणको अभाव, निजी क्षेत्रको व्यवसायको कमी हुनु र अन्य कारणले गर्दा बेरोजगार समस्या बढिरहेको छ।

त्यसैगरी वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनु पर्ने हुन्छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिना अर्थात् २०८१ साउनदेखि फागुन मसान्तसम्म उनीहरूले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका  छन। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १४.१७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा चार लाख ६८ हजार १३५ जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जान ६६ हजार ३३६ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ । विभागले जारी गरेको विवरण अनुसार, २०८१ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा चार लाख ७४ हजार १४७ जना पुरुष र ६० हजार ३२४ जना महिला छन् ।  वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११.२८ प्रतिशत संख्या महिलाको छ । विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएका थिए । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा औसतमा प्रत्येक महिना ६६ हजार ८०८ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image