
हेटौंडा । बागमती प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिशमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अधिवेशन अन्त्य गर्नुभएको हो । सरकार र प्रतिपक्षबीच बजेटका सम्बन्धमा विवाद रहेकाले प्रदेशसभा बैठक प्रभावित बनेको थियो । बैठक बोलाइए पनि बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिश गरेको हो ।
गएको माघ १८ गतेदेखि शुरू भएको अधिवेशनमा ७ वटा बैठक बसेको छ । विधेयक अधिवेशनका रूपमा चिनने हिउँदे अधिवेशनबाट नयाँ विधेयक पास नभएको प्रदेशसभा सचिवालयका प्रवक्ता एवम् कानून अधिकृत मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । अधिवेशन अन्त्य भएसँगै प्रदेशसभाको विषयगत समितिमा चार वटा विधेयकहरू होल्ड भएका छन् । प्रदेशसभामा गत माघमा पेस भएका ती संशोधन विधेयक समितिमा होल्ड भएका हुन् ।
गत माघ २६ गते बसेको प्रदेशसभा बैठकले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो भने अन्य चार विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयकी सूचना अधिकारी हेमा न्यौपानेका अनुसार प्रदेशसभाको बैठकले विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन तयार भएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संशोधनसहित प्रतिवेदन पेस हुने कार्यसूची रहेको उहाँको भनाइ छ । संसद्ले उक्त प्रतिवेदनहरूलाई छलफल गरी पारित गर्नुपर्ने हुन्छ । तर अधिवेशन नै अन्त्य भएकाले सो कार्य होल्ड भएको उहँले बताउनुभयो ।

