
हेटौंडा। मकवानपुरको भिमफेदीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ नयाँगाउँ स्थित बोकेदह सामुदायिक बनमा लागेको डढेलो नियन्त्रणका लागि बुधबार मध्यरात वनमा पुगेका ४९ को अकिल बहादुर पाख्रिन भिरबाट लडेर बेपत्ता भएका थिए।
वनको डढेलो घरगोठ सम्म फैलिने भयो भनेर अकिल बहादुर श्रीमती बीपीमाया पाख्रीन र दाजु नाता पर्ने रत्न कुमार पाख्रिन सहित वनमा पुगेका थिए । डढेलो नियन्त्रणका क्रममा बेपत्ता भएका उनको खेजतलासका क्रममा बिहीबार बिहान भिरमा भोर्लाको लहरामा अडकिएको अबस्थामा शरीर आगोले जलेको अवस्थामा फेला पारेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । घटनामा इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक ललिता ढकाल नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जनाइएको छ।

