कम्युनिष्टको सरकार कान्डै कान्डै फसेको छ :- नेता बानिया

हेटौंडा टुडे
७ आश्विन २०७६, मंगलवार १५:४७

असोज ७ , हेटौडा

नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान कम्युनिष्टको सरकार काण्डै काण्डमा फसेको तर्क गरेका छन् । नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समापन समारोहमा बोल्दै नेता बानियाँले कम्युनिष्टको सरकार कान्डै कान्डै फसेको बताउनु भएको छ ।
‘यो सरकार हत्या हिंसा बलात्कार काण्ड, सुन काण्ड, वाइडबडी काण्ड जस्ता काण्डै काण्डमा फसिरहेको छ, सरकारले जनताको हितविपरीत काम गर्दै देशलाई नै संकटमा धकेल्ने काम गरिरहेको छ ।’ बानियाँले भने–‘अहिलेको सरकार ओलीको, काँग्रेसको सरकार भोलिको हुने पक्का छ, जनताले काँग्रेसकै भरोसा गर्न थालिसकेका छन् ।

 

 

बर्तमान सरकारले संविधानकै बर्खिलापमा ऐन कानुन बनाउन थालेको भन्दै काँग्रेसले खबरदारी गरिरहेको उहाँले बताउनुभयो । संविधानविपरीत ऐन कानुन निर्माणमा सरकारले जबरजस्ती गरे काँग्रेसले सशक्त प्रतिकार गर्ने उनको चेतावनी थियो । काँग्रेसको धैर्यता र शालिनतालाई वर्तमान सरकारले कमजोरीको रुपमा बुझेको उनको ठम्याई छ । काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले लोकतन्त्र र प्रजातन्त्रको सम्मान गर्दै अघि बढ्नेमा विश्वस्त तुल्याउँदै बानियाँले कम्युनिष्टले पेलेरै अघि बढ्न खोजे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि प्रदेशसभा सदस्य गिता वाग्ले, केन्द्रीय प्रतिनिधिहरु ऋषिराम घिमिरे, प्रेमचन्द्र दाहाल, पार्टी मकवानपुर सचिव बुद्ध लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । हेटौंडाको पार्टी कार्यालयबाट निस्किएको विरोध याली बजारका विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*