हेटौंडाकी एक तेस्रोलिङ्गीले पाइन् नागरिकता

हेटौंडा टुडे
१९ मंसिर २०७६, बिहीबार १६:१८

हेटौंडा, मङि्सर १९

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अन्तर्गतको एक तेस्रोलिङ्गीले बुधबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । हेटौंडा–१२ पदमपोखरीकी सानु थिङले ३१ वर्षको उमेरमा आफ्नो पहिचानसहितको नागरिकता प्राप्त गरेकी हुन् ।

वडाअध्यक्ष ललित घलानको सिफारिस एवम् हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देलसहित स्थानीयलाई साक्षी राखी जिल्ला प्रशासन कार्यालय मकवानपुरले थिङको लिङ्ग ‘अन्य’ उल्लेख गरी नागरिकता दिइएको हो । बुबा सूर्यबहादुर थिङ र आमा मंगलमाया थिङको वंशजको आधारमा सानुलाई नागरिकता प्रदान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत मदन लामा थिङले सानुको नाममा बुधबार नागरिकताको प्रमाणपत्र जारी गरेका हुन् । लिङ्गको आधारमा पुरुष वा महिलालाई मात्र नागरिकता प्रदान गर्दै आइएकोमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हक संविधानमै उल्लेख भएबमोजिम थिङको लिङ्ग ‘अन्य’ उल्लेख गरी नागरिकता दिइएको हो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई लिङ्गको महलमा अन्य जनाई जारी गर्ने सम्बन्धी निर्देशिका २०६९ को आधारमा प्रशासनले नागरिकता जारी गरेको हो ।

संविधान र निर्देशिकामा पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार सुरक्षित गरिए पनि प्रशासन कार्यालयले भने नागरिकता दिन आनाकानी गर्ने गरेको निलहीरा समाज मकवानपुरकी कार्यक्रम संयोजक सुरज किरणले जानकारी दिइन् ।

‘कानुनी व्यवस्था भए पनि तेस्रोलिङ्गीलाई नागरिकता पाउन धेरै संघर्ष गर्नुपर्ने अवस्था कायमै छ । सानुलाई नागरिकता प्रदान गर्न पनि हामीले धेरैलाई गुहार्नुप¥यो । धेरै संघर्ष गर्नुप¥यो ।’ किरणले भनिन् । यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट तेस्रोलिङ्गी अजिता भुजेल र नेहा मानन्धरले पनि आफ्नो पहिचानको आधारमा नागरिकता पाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*