साङ्केतिक तस्बिर
चैत्र १९, हेटौडा
भारतमा कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमित वृद्ध दम्पती उपचारपछि निको भएका छन् । ९६ वर्षीय श्रीमान् र ८८ वर्षीया श्रीमती उपचारपछि निको भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २० दिनदेखि कोट्टयम मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेको दम्पतीको कोरोना रिपोर्ट ुनेगेटिभु आएको डाक्टर आर पी रेनविनले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो सँगै वृद्ध उमेरमा कोरोनालाई जित्ने यो दम्पती दोस्रो बनेको छ । यसअघि इटालीमा ९५ वर्षीया एक वृद्धा उपचारपछि निको भएकी थिइन् । सामान्यतया कोरोना भाइरस ६० वर्षभन्दा माथिको उमेर समूहलाई खतरा मानिन्छ । उमेरसँगै मधुमेह वा मुटुको समस्या भएका बिरामीलाई कोरोना सङ्क्रमण खतरनाक मानिन्छ ।
अहिलेसम्म आठ लाख ५६ हजार पाँच सय ५१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । एक लाख ७७ हजार एक सय ३२ जना उपचारपछि निको भएका छन् भने ६ लाख ३७ हजार तीन सय २६ जनाको उपचार चलिरहेको छ । ४२ हजार ९६ जनाको ज्यान गएको छ ।