आज लकडाउनको बाईसौं दिन,घर बस्दा बस्दै दिक्क लागिसक्यो। हुन त लकडाउन नभएको बेला पनि कता नै निस्कन्थेँ र !! मध्यान्नको बाह्र बजे कलेजबाट फर्केपछि घर भित्र आफुलाई लक गरेर राख्ने मलाई यस लकडाउनले खासै केही असर त परेको छैन।
हरेक दिन जस्तै घर भित्र नै बसेकी छु। फरक यति मात्रै हो अरु बेला बिहान हतार हतार उठेर कलेज जानु पर्थ्यो, अहिले केही कुराको हतार छैन, सात-आठ बजेसम्म सुत्न पाईन्छ। म जस्तै कयौं स्कुल/कलेजका विद्यार्थीहरूलाई त सुरु-सुरुमा रमाईलो लागेको थियो होला। पहिला लकडाउन नहुँदा जति समय
भएपनि दिन बितेको पत्तै हुँदैनथ्यो। अहिले त हरेक दिन एउटै लाग्छ, बिहान सात/आठ बजेतिर मम्मीको गाली खाँदै उठ्ने , त्यसपछि खाना, फेरी यसो भाँडा-कुडाँ माझेर मोबाईल चलाएर बस्ने, मोबाईलमा पनि के हेर्नु, कति हेर्नु, फेसबुकका न्यूज-फिड सधैं एउटै, कोरोनासंग सम्बन्धित न्यूज हेर्दा/पढ्दा आङ् सिरिङ्ग भएर आउछ। “आज यो ठाउंमा यति जनालाई कोरोना लाग्यो, यति जनाको मृत्यु भयो।” सुन्दा पनि डर लाग्छ चाईना, ईटली, अमेरिका जस्तो
सबैकुराले सम्पन्न भएको देशमा शवको पहाड लागेको समाचार सुन्छु। मानिसको लाशको पहाड नै लगाईदिने भनेपछि कति धेरै शक्तिशाली होला त यो कोरोना भन्ने सोच्ने गर्छु ।
शहरमा डेरा गरी बसेकाहरू घर जान नपाएर पिरोल्लिएका छन्। तर गाउघर जादैंमा आफुलाई कोरोना लाग्दै लाग्दैन भन्ने हैन। आफु जहाँ छौं, त्यही सुरक्षित भएर बस्ने हो। झनै गाउंघरमा विदेश तिर बाट फर्किएका मानिसहरू हुन्छन्। बालबच्चा हरू एता उता दौडिदाँ पनि पिर लाग्छ। सधैं त्यस्तै कोरोनाको समाचार हरू हेरिन्छ/पढिन्छ।, सबैलाई अग्रह पनि गर्छु , सबै
जना घरमै बस्नुस हामिले यस्तो विशम परिस्थितिमा घर भित्रै बसेर कोरोना संक्रमण कम गनुपर्छ ।
आ.. कति न्यूज पढेर टेन्सन लिनु जतिसमाचार हेर्यो, त्यति धेरै टेन्सन लाग्छ। अनी ‘माईन्ड फ्रेस’ गर्न केही समय साथिभाईहरूसंग गफ गरेर, पारिवारिक ग्रूपमा भिडियो च्याट गरेर, फेसबुकका विभिन्न गेम्सहरू खेलेर बिताउँछु।
सुरू-सुरूमा त रमाईलो लाग्थ्यो,आहा…कति आनन्द, मस्त मोबाईल चलायो, आफुलाई मनपर्ने फिल्महरू हेर्यो दिन कटिहाल्छ। तर हरेक दिनको कृयाकलाप नै यहि मोबाईल चलाउने र फिल्म हेर्ने भएपछि दिक्क लाग्न थाल्यो। पढ्न त यसै पनि कहिल्यै मन नलाग्ने, झन छुट्टि पाएपछि के पढिन्थ्यो ?
बिचरा टेबलमा राखेको किताबले पनि मनमनै गाली गर्दो हो। हरेक दिन एउटै काम
गर्दा गर्दै दिक्क लागिसक्यो। नयाँ केही गर्नलाई पनि अल्छि लाग्ने।
कसरी हुन्छ, यो समयलाई प्रोडक्टिभ् बनाउ है छोरी, पढ्न नछोड, नयाँनया कुराहरू सिक, केही भन्दै ड्याडि/अंकलहरूले भन्नुहुन्थ्यो। अस्ति भर्खरै पनि सानुड्याडिले केही लेख्ने गर भन्दै म्यासेज गर्नुभएको थियो। लेख्ने, पढ्ने कामहरू गरिराख भनेर सधैँ भन्ने गर्नुहुन्छ। अहिलेको समयलाई सदुपयोग गरेर आफ्नो क्षमता बढाउने हो। बरू हरि अंकलको अनलाईनमा पनि लेखेर पठाए हुन्छ केही केही भन्दै म्यासेज गर्दै हुनुहुन्थ्यो।
यसो सोचेँ, अं है…
साच्चै केहि लेख्नुपर्यो तर लेखको सुरूवात कहाँबाट गर्ने भनेर नै आएन।
प्लस-टु पछिको छुट्टिमा घुम्न भनेर काठ्माण्डौ गएकी थिंए। त्यहाँ बसेको बेलामा सानुड्याडिको ल्यापटप चलाएर बस्थेँ। यसो चलाउदा आन्टिको फोल्डर देखेँ र खोलेर हेरें। अन्टि पेशाले शिक्षिका हुनुहुन्छ। सबैसंग मायालु व्यवहार गर्ने अन्टिले स्कुलमा पढाउन जाँदाको पहिलो दिनमा नै सबै विद्यार्थीको;मनपर्ने मिस बनेर आउनुभएको रहेछ। आफु शिक्षिका बन्दा पहिलो दिनको अनुभब सबै लेखेर राख्नुभएको रहेछ ल्यापटपमा।
पहिल्यै देखि कथा, निबन्धहरू पढ्न मन लाग्थ्यो। अन्टिको त्यस लेखलाई पढेँ। कति मिलाएर लेख्नुभएको, जसरी सानो हुँदा आमाले कथा सुनाउदाँ त्यस कथाको चित्र दिमागमा कोर्ने गर्थेँ, त्यसरी अन्टिको लेखको पनि चित्र कोर्दै पढ्न थालेँ। आहा, कति राम्रो गरि मिलाएर लेख्नुभएको।
अन्तिम सम्म पढ्दै जाँदा अनुहारमा अटोमेटिकल्ली मन्द मुस्कान आयो। आहा, कति राम्रो यहि मात्रै झुण्डिएको थियो दिमागमा।
स्कुल पढ्ने बेलादेखी नै यस्तो लेख्न र पढ्न रमाईलो लाग्थ्यो। खासै राम्रो गरि लेख्न नआएपनि, केहि रमाईलो लाग्ने कुराहरूलाई आफ्नो डायरीमा लेखेर राख्ने गर्थेँ। झनै अन्टिको त्यो पहिलो अनुभवको लेख पढेपछि झन-झन धेरै लेख्न मन लाग्थ्यो। लेख्ने हौसला झनै बढेको थियो।
कहिले मोबाईलमा त, कहिले डायरीमा लेख्न थालेँ। त्यस्तै गरि पहिल्यै लेखेर राखेको छोटो लेख हेंटौंडा-टुडे अनलाईन मिडियालाई पठाएकी थिँए । पोस्ट पनि भयो, फेसबुकमा शेयर गरैँ। आफन्त-साथिभाई सबैले राम्रो छ, अझै लेख्ने गर भन्दै कमेन्ट गर्नुभयो। सबैले पोजेटिभ रेस्पोन्स दिएर मेरो हौसला झनै
बढाउनुभयो। मनमनै खुशी भएँ। साँच्चै, त्यो समयमा मेरो खुशिको सिमाना नै थिएन।
म सानो हुंदा, दिनभरी अफिस, र बिहान-बेलुका घरको कामले थकित भएपनि सुत्ने बेलामा मम्मीले कपिमा केही कविताहरू कोर्दै गरेको देख्थें। मम्मीको पुराना डायरीहरू पल्टाएर यसो हेर्दा सबै पन्नाहरू कविता र आफैले रचना गरेका गितहरूले भरिएका देखिन्थे। ड्याडिको डायरी तिर पनि त्यस्तै हुन्थ्यो। अस्ति ठुलो फुपु पनि साथिलाई फोन गर्दै त्यस्तै किताबहरूकै कुरा गर्दै हुनुहुन्थ्यो।
यो फुर्सदमा केहि लेख्न पर्ने, आजभोली केही लेखिएकै छैन,भन्दै हुनुहुन्थ्यो ।
सायद घर तिरको माहोल नै यस्तै भएर होला, मलाई लेख्न पट्टी मन लागेको। सानै देखी सबैले लेखेको देख्थेँ, त्यसैले नै होला अझै हौसला बढेको तर उहाँहरूले जसरी राम्रो गरी लेख्न आउँदैन थोरै-थोरै कोशिश मात्रै गर्ने गर्छु।
लेख लाई कहाँबाट सुरू गर्ने भनेर घन्टौँ सोचेर बस्दा पनि लेख्न आउदैन थियो। सोच्दा-सोच्दै दिक्क लाग्थ्यो ।
अनी आ.. लेख्दिन भनेर छोडिदिन्थेँ। फेरी त्यस्तै केहि पढेपछि अब चैं म पनि
लेख्छु, भनेर सुरू गर्न खोज्थें तर अहँ, के लेख्ने नै थाह नहुने, सोच्न खोज्यो, दिमाग नै खाली
भएको जस्तो केहि सोच्नै नसक्ने। बल्ल बल्ल केही लेखेँ भनेपनि लेखेको केही मिलेको छैन जस्तो लागेर सबै मेटाईदिन्थें। अरूले लेखेको पढ्थें। सबैले कति मिलाएर लेखेको जस्तो लाग्थ्यो।
दुर्गा कार्की दिदीले लेखेको पहिलो चोटी पढ्दा त उहाँको फ्यान नै भएकी थिएँ म। उहाँले लेख्नुभएको सबै त पढेकी छैन, तर जति पनि पढेकी छु, सबै एकदम धेरै मनपर्थ्यो। कति कुराहरू त आफैसंग मिलेको जस्तो पनि लाग्थ्यो। उहाँको लेखहरू पढेपछि पनि त्यस्तै आफुलाई पनि
लेख्न मन लाग्ने, तर लेख्नै नआउने।
यस्तो कुराहरू सोचेर, पुराना फोटोहरू हेरेर, फेसबुकको न्यूज फिड स्क्रोल गरेर, फिल्महरू हेरेर लकडाउनको समय बितिरहेको छ। कोरोना को अन्त्य कहिले हुन्छ भन्ने पनि थाह छैन। दिनप्रतिदिन कोरोना संक्रमण को संख्या अझै बढदो क्रममा छ।कोरोनाको नयाँ न्यूज आउने बित्तिकै साथिहरूले यस्तो भएछ भन्दै मेसेज पठाउथे। चिन्ता नलीउ, केही हुंदैन। तर आफु चैं सतर्क
रहनुपर्यो, घरभित्रै बसिरहने, हात धोईराख्ने यस्तै यस्तै भन्दै सम्झाउंथेँ, तर मनमनै आफुलाई पनि डर लाग्थ्यो। लकडाउन अझै लम्बिदै छ। न केहि काम गर्न मन लाग्छ, न त पढ्न नै।
खाने, मोबाईल चलाउने र सुत्ने बाहेक केही काम गरिएको पनि छैन। यो फुर्सदको समयमा केही नयाँ सिक्यो भने चाहीँ राम्रो हुनेथ्यो भन्ने सोच्छु।
आज चैं केहि लेख्छु सोचेर लेख्न सुरू गर्न खोजेँ, तर सधैंझैं सुरूवात नै गर्न आएन। दिमागमा आउँछ केही, तर बाहिर उतार्न मुस्किल पर्छ। कति दिमागमा सोचेर बस्नु भनेर सोचेको कुरालाई नै अक्षरमा परिणत गरेर लेख्दै छु। यहि सोच्दै लेख्दै गर्दा कति छिटो रातको साढें एघार बजिसकेछ।
नोट: यो लेख हिजो लकडाउनको २२ औं दिनमा लेखिएको हो ।
कोरोना भाईरस बाट बाँचौं र बचाऔं , सबैजना घरमै बसौं