चोरीको घटना बढेपछि चौघडा क्षेत्रमा स्थानीयको रात्रीगस्ती

टुडे संवाददाता
३१ बैशाख २०७७, बुधबार २०:५३

 बैशाख ३१, हेटौंडा /हेटौंडा–६ का स्थानीयले आफ्नो क्षेत्रमा रात्रीगस्ती शुरु गरेका छन् । लकडाउनको समयमा चोरीका घटना बढेपछि गाउँको सुरक्षाका लागि उनीहरुले रात्री गस्ती गरेका हुन् ।
हेटौंडा–६ को चौघडा कान्तिलोकपथ लबकुश विजभण्डारदेखि दिव्यनगर कालीपोखरीसम्मको क्षेत्रमा रातभर गस्ती गरेको स्थानीय दुर्गा घिमिरेले बताए । समूह बनाएर यी क्षेत्रमा स्थानीयले निगरानी गर्ने गरेका छन् । स्थानीय केदार अधिकारी, दुर्गा घिमिरे, दिपक ढकाल, रुपक ढकाल, रामहरी सापकोटा, दिनेश बस्नेत, कविराम पुलामी, कमल सापकोटा, तिलक पुलामी, कृष्णहरी सापकोटा, निसान सापकोटा, अम्बिका चौलागाई, विकेश चौलागाई, अनुप चौलागाईसहितको टोलीले क्षेत्रगत रुपमा गस्ति गरेका छन् ।
स्थानीयले गस्तिका आवश्यक टर्च लाईटको रकम संकलन गरेर खरिद गरेका छन् । गस्तिका क्रममा कोही नचिनेको वा शंकास्पद व्यक्ति भेटिए सोधपुछ गर्ने र प्रहरीको जिम्मा लगाउने उनीहरुको भनाई छ । हेटौंडा–६ मा चोरीको घटना बढेपछि टोल विकास संस्थाले आ–आफ्नो क्षेत्रमा गस्ति गर्ने निर्णय गरेको थियो । यस अनुसार अन्य टोलमा समेत गस्ति थालिएको छ ।
पछिल्लो समय चोरीका घटना बढेको र प्रहरीले अहिलेसम्म चोर समेत पक्रन नसकेको अवस्थामा चोरी रोक्न गस्ति गर्ने क्रम बढेको छ ।स्रोत:प्रस्ट खबर डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*