असार३१ ,हेटौँडा /हेटौंडा–४ कर्रा सुर्यचोककी २६ बर्षीया सुस्मिता थापाको हत्या अभियोगमा संलग्न भएका ४ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ ।
बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीस सिता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
मंगलबार थुनछेक बहस सकिएपनि समय अभावले आदेश भने आजलाई सारिएको थियो।
हत्या अभियोगमा पक्राउ परेका सुस्मिताका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापा, सासु ५० बर्षीया तुलसा कुमारी थापालाई अर्की नन्द २७ बर्षीया दुर्गा थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले बताएका छन।
हत्यामा संलग्न ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । त्यसैगरी घटनाको मतियारको रुपमा सासु तुलसी कुमारी थापालाई १२ बर्ष जेल सजायको माग गर्दै,अर्की नन्द २७ बर्षीय दुर्गा थापा र उनका पति ३४ बर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।
मकवानपुर प्रहरीले असार १५ गते कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न अभियुक्त मृतककी ससुरा ५८ वर्षीय ससुरा प्रकाश थापा,सासु ५० बर्षीया तुलसा कुमारी थापा,नन्दहरू २७ बर्षीया दुर्गा थापा,२३ वर्षीय नन्द सीता थापालाई सार्वजजिक गरेको थियो भने फरार रहेका दुर्गा थापाकी श्रीमान ३४ बर्षीय अरुण कार्की भने अझै प्रहरी र अदालतको सम्पर्कमा आएका छैनन्।